Pageviews

Wednesday, August 17, 2011

गीत



डाँडैनेरि देखेर जून छुन खोजेँ टाढा रै'छ
दुखियालाई आफ्नै आँशु ए..लै..सुनको बाला रै'छ


कर्कलाको पातमाथि नाचिरह्यो शित मोती
जिन्दगीलाई त्यै मोतीले सोचेँ सजाऊँ एकचोटी
बतासैको एक झोँक्काले त्यो त खस्नेवाला रै'छ
दुखियालाई आफ्नै आँशु ए..लै..सुनको बाला रै'छ

दोबाटोमा टुक्रा टुक्रा इन्द्रेणीको हार देखेँ
एकै टुक्रा टिपेकोथेँ म त फिक्का फिक्का भएँ
त्यो त पराइ गलाबाट खस्या फूलको माला रै'छ
दुखियालाई आफ्नै आँशु ए..लै..सुनको बाला रै'छ


Friday, August 12, 2011

गीत



सम्झेँ, दुष्मन पछि लाग्यो; दौडेँ, लखेटिएँ
आफ्नै कालो छायाँ रै'छ भागी भागी हिँडेँ

कति आँशु थोपा हेरेँ आशुँभित्रै देखेँ
ऐना हेर्दा ऐनाभित्रै हजार शत्रु देखेँ
दौडेँ लेक-वेँशी, भीरमा झन्नै घचेटिएँ
आफ्नै कालो छायाँ रै'छ भागी भागी हिँडेँ

धेरै समयपछि आज फर्केँ आफैँमा म
मै हुँ कि होइन कोही मलाई चिनाउन !
थाहा छैन आज कस्तो, हिजो कस्तो थिएँ !
आफ्नै कालो छायाँ रै'छ भागी भागी हिँडेँ

Saturday, August 6, 2011

गीत



ए शिकारी दाइ !
यसपालि नि सेक्मुरी फूल झर्ने हो कि कोपिलामै
चल्दैछ है अन्दङ फूलको बासना
जालीझेली शासन…

तिम्रो सिमसार, घुमाउने खेत, भस्मे, जगर, खोरिया
आफ्नै घरमा बस्छौ कति पराइको हलिया !
चाँडो होला लुकाउन कोथीमारा खुकुरी
काटिराख अझै एकदुई, घङ्घरुका लठ्ठी
ए शिकारी दाइ !
यसपालि नि सेक्मुरी फूल झर्ने हो कि कोपिलामै…

विचारको तिम्रो शिकार होस गर है उम्केला
धनु सुरो ताकी राख काँड त्यसै फुत्केला
अरुण खोला काङ्सोरेको कथा सम्झी राख है
बालुवामा लुकाइएको तरबार सम्झी राख है
ए शिकारी दाइ !
यसपालि नि सेक्मुरी फूल झर्ने हो कि कोपिलामै…

(विश्व आदिवासी दिवसको उपलक्ष्यमा समर्पित)

Wednesday, August 3, 2011

गीत

स्वप्निल स्मृति


पूर्णिमामा डाँडामाथि जस्तो फुल्छ चन्द्रमा
टाढा टाढा भइजानेलाई त्यस्तैत्यस्तै सम्झना

सालैपिच्छे भत्किरह्यो माया खोली किनारा
बतासमा पात जस्तै उडिगयो विचरा !
मझेरीमा झरीवर्षा जस्तोगरी सावनमा
नफर्किने मालचरीलाई त्यस्तैत्यस्तै सम्झना

एउटा वहार कुर्दा धेरै शिशिर बिते पाखामा
आँशु नै भो इन्द्रेणी फूल नओभाउने आँखामा
सुन्ने रातमा नाङ्गो आकाश जस्तो चिहानडाँडामा
सम्झी सम्झी बिर्सनेलाई त्यस्तैत्यस्तै सम्झना